प्राचिन नगरी रामग्राम
परिचय
रामग्राम पश्चिम नवलपरासीको सदरमुकाम परासी देखी दक्षिण तर्फ र भारतको सीमा नाका महेशपुरबाट उत्तर तर्फ अवस्थित रहेको छ। यो पवित्र स्थल मानिएको बौद्ध अस्थिधातु स्थल रामग्राम नवलपरासीको परासी बजारदेखि पूर्वी दक्षिण, देउरवा गाउँदेखि दक्षिण, बेलासपुरदेखि उत्तर, उज्जैनीदेखी पूर्व र देउँगाउदेखी पश्चिममा झरही खोलाको किनारमा अवस्थित छ। यहीबाटा जिल्लाकै प्रथमपटक कायम गरिएको नगरपालिकाको नाम रामग्राम नगरपालिका नामाकरण गरिएको थियो। यस रामग्राम क्षेत्रको बारेमा धेरै नै अनौठा कहानीहरु प्रचलित छन। तर वास्तविक यस रामग्रामको इतिहासको बारेमा थोरै मान्छेलाई मात्र थाहा छ।
रामग्रामको इतिहास विषयमा चर्चा गर्दा बौद्धकालिन इतिहास कपिलवस्तुको इतिहाससँग जोडिएर आउँछ। स्थानियहरुका अनुसार रामग्राम गौतम बुद्धको मावली थियो भनि प्रख्यात छ। त्यस्तै देवदह पनि बुद्धको मावली भनेर नै परिचित छ। त्यति मात्र होइन बुद्धको ससुराली पनि रामग्राम मै थियो पनि भन्ने गरिन्छ। वास्तविक कुरा के त ?
काठमाडौं उपत्यकामा किराँतहरुको शासनकाल चलिरहदाँ उक्त समयमा मगध राज्यमा बृजिक जाति, वैशालिमा लिच्छवि जाति, रामग्राममा कोलीय जाती कुशिनगरमा मल्ल जाती र कपिलवस्तुमा शाक्य जातीको वासोवास रहेको कुरा इतिहारकारहरुले थुप्रै ऐतिहासिक दस्तावेजहरुमा उल्लेख गरेका पाईन्छ। कपिलवस्तु गणराज्यको कोलीय गणराज्यसँग पारिवारिक सम्बन्ध थियो। मावलिको सन्दर्भमा वास्तविक तथ्य भनेको एसियाको ज्योति भनेर चिनिने सिद्धार्थ गौतम बुद्धको मावली र ससुराली दुवै कोलीय गणराज्य मै थियो। ई.पू ५६३ मा कपिलवस्तुको राजा शुद्धोधनकी जेठी रानी मायादेवी कपिलवस्तुबाट आफ्नो माईतिघर देवदह जादाँ बाटोमा पर्ने लुम्बिनी उपवनमा प्रस्रव वेदना सुरु भई सिद्धार्थ गौतमको जन्म भएको थियो। यस देवदहलाई इतिहासकार डा. बमवहादुर अधिकारीले “नेपालको बृहत इतिहास” नामक पुस्तकमा रामग्रामको उपनामले परिचित गराउनुभएको छ। त्यस्तै कोलिय गणनायक शप बुद्धकी पुत्री, देवदत्तकी बहिनि यशोधरालाई कसैले दण्डपाणो शाक्य गोपकी छोरी पनि भनेकाछन।
गौतम बुद्धको मावली तथा ससुराली दुवै कोलिय राज्यमा रहेको कुरा इतिहासले वताउछ। र उत्खनन् गरि रुपन्देहीको देवदहभन्दा नवलपरासीको पण्डितपुर प्राचिन रहेकोले कोलिय गणराज्यको राजधानि पण्डितपुर भएको भूगर्भविदले पुष्टि गरिसकेका छन। यस अधारमा बुद्धको मावलि र ससुरालि दुबै पण्डितपुर रहेको पुष्टी हुन्छ।
रामग्राम बारे ऐतिहासिक दस्तावेजमा चर्चाः
बौद्ध साहित्यमा उल्लेख भए अनुसार यो स्तूप क्षेत्र साकेत राज्य अन्तर्गत पर्दथ्यो। बौद्ध स्तूपस्थलको साकेत (कोशल) राज्यको राजा सुजाता थिए। ती राजाको २ वटी रानीमध्ये जेठी रानी तर्फबाट ४ वटा राजकुमार र ५ वटी राजकुमारी जन्मेका थिए । अकस्मात जेठी रानीको देहावसान पश्चात सुजाता (ओकाक) नाम गरेको राजाले कान्छी रानी विवाह गरे र रानीको आग्रह अनुसार उनिबाट जन्मेको राजकुमारलाई गद्दी आरोहण गराउनका लागि जेठी रानीपट्टिको सबै छोरा छोरीहरुलाई आफ्नो साकेत (कोशल) राज्यबाट निकाला गरे। यी लखेटीएका राजकुमार र राजकुमारीहरु उत्तर तर्फ लाग्दा पुरानो भागिरथी नदीको नामले चिनिएको वाणगङ्गा नदीको किनारमा तपस्या गरी बसेका साधु सन्त ‘कपिल मुनी’ सँग भेट भयो। उनै कपिल मुनिकै सल्लाहबाट ती राजकुमार राजकुमारीहरुले शक वृक्षको जङ्गल फाँडेर मुनिको आदेश र अनुमतिबाट त्यही बसोबास गरेका हुनाले उनिहरु शाक्य भनि चिनिए। त्यही जङ्गल फाडेर रहँदा बस्दा ती दाजुभाई तथा दिदी बहिनिहरुका बीच विवाह भयो। विवाह पश्चात ५ दिदी- बहिनी बीचको जेठी दिदी ‘प्रिया’ राजमाता बनेकी थिईन। पछी त्याँहा वरपरका मानिसहरु आएपछि यस बस्तिले नगरको रुप लिन पुग्यो र कपील मुनिको नामबाट राज्यको नाउँ कपिलवस्तु नामकरण हुन पुग्यो। केही समयपछी राजमाता बनेकी प्रियालाई कुष्ठ रोग लाग्यो र उनले कपिलवस्तु छोडेर नजिकको जङ्गलको एक गुफामा गएर बसिन्। वर्तमान भारतको वाराणसीका तात्कालीन राजा ‘राम” लाई पनि कुष्ठ रोग लागेका कारण उनले पनि राज्यको सबै अभिभारा आफ्ना उत्तराधीकारी छोरालाई सुम्पेर वनवासको जीवन यापन गर्दा त्यही जाङ्गलमा आएर बसेका थिए। संयोगवश प्रिया र रामको त्यही जङ्गलमा भेट भयो। प्रियाले कोलामको रुखमुनि बस्दाबस्दा उनको कुष्ठरोग निको भयो। त्यही सिको गर्दा रामको कुष्ठरोग पनि निको भयो।
राम र प्रियाले आ-आफ्नो कुष्ठरोग निको भएपछि परस्परमा विवाह गरी कोलियनगरमा बस्न थाले। त्यही कोलिय रुखको नामबाट त्यस नगरको नाउँ पनि कोलियनगर रहन गयो। पछि गएर कोलिय नगर राज्यमा राजा राम भए र प्रिया रानी भईन। उनिहरुको पालादेखि त्यस कोलिय राज्यको नाम रामग्राम रहन गएको हो।
कोलिय गणराज्यमा सातवटा नगरहरु थिए। उत्तरक, ककरपत, हल्लीदवसन, सायुगा, रामग्राम, सज्जनेल एवं कुण्डिया नामका यी नगर कोलिय गणराज्यका इलाकाहरु थिए। प्राचिन कोलियनगर, देवदह, व्यघ्रपुर र रामग्राम जस्ता बौद्धग्रन्थमा उल्लिखित नामावली एउटै राज्यका नामहरु हुन। बुद्धको असी वर्षको उमेरमा कुशीनगरमा महापरिनिर्वाण पश्चात रामग्रामका कोलियहरु कुशीनगर पुगी बुद्ध क्षत्रिय भएको र आफू पनि त्यसै वंशको रहेकोले बुद्धको अस्थिधातुमा अधिकार रहेको दाबी गरे। उनीहरुले उक्त अस्थि ल्याई रामग्राम स्तूप निर्माण गरेका थिए। यसको पूजा र सम्मान गरिदै आए।
मौर्य सम्राट अशोकले निग्लीसागर लुम्बिनी गोटिहामा आदि क्षेत्रको अभिलेख र स्तम्भ लेखाउने क्रममा कोलिय राज्य रामग्रामको बौद्ध स्तुपको अवलोकन गरेका थिए। ई. पू. २४५ तिर भारतका मौर्य सम्राट अशोक बौद्ध धर्मको प्रचार प्रसार गर्ने सिलसिलामा रामग्रामको पावन क्षेत्रमा पनि आएका थिए। त्यसपछि सन् ४०३ तिर चिनियाँ यात्री फाहियान र सन् ६३६ तिर ह्वेन साङ ले कपिलवस्तुको भ्रमण गरी बिराना भग्नवेशषहरुको रूपमा वर्णन गर्दै रामग्राम स्थित स्तूपको पनि चर्चा गरेका थिए। उनीहरूले रामग्रामको बारेमा उल्लेख गर्दै स्तूप पुरानो राजधानी (देवदह) देखि दक्षिण पूर्वी दिशामा रहेको कुरा वर्णन गरेका छन्। त्यसपछि कुनै पनि यात्रुहरूले लामो समयसम्म रामग्रामको चर्चा गरेको पाइँदैन। महत्व
अशोकले विभिन्न स्थानका प्रारम्भिक स्तूपहरु खोल्ने सिलसिलामा रामग्राममा नागहरुले सुरक्षा गरेको हुँदा यसको अस्थिधातु निकल्न सकेनन। सिलोनको वंशावली अनुसार रामग्रामको अस्थिधातु गङ्गा नदीले बगाई समुद्रमा पूर्याएकोमा नागहरुले खोजी संरक्षण गरेका थिए। त्यसताका साना नदिहरुलाई गङ्गा भनि सम्बोधन गरिन्थ्यो भन्ने धारणा छ। बुद्धको परिनिर्वाण पश्चात उनको देहलाई गुरु द्रोणले मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, वैप्दीप, पावा, कुशीनगर र कोलियनगरन गरि ८ भाग लगाए र कोलियनगरको लागि लगाईएको एक भाग कोलियबासीले प्राप्त गरी उनिहरुले रामग्राम स्तूपको निर्माण कार्य गरेका थिए। गौतम बुद्धको आठौ अस्थिधातु राखिएको मौलिक स्तूप यही रामग्राम हो।
रामग्रामस्तूप बुद्धको एक मात्र नखोलिएको अस्थिधातुस्थलको रुपमा रहेको छ। नवलपरासीको पश्चिममा अवस्थित रुपन्देहिको नामकरण पनि कोलिय राजकुमारी रुपा देवीको नामबाट अपभ्रंश हुदै रुपन्देही भएको हो।
निष्कर्ष
ई. पू. छैठौ शताब्दीमा पश्चिम नेपालको तराई भू- भागमा विस्तारित शाक्य र कोलिय राज्यहरु तत्कालीन शक्तिशाली गणराज्यहरु थिए। शाक्य र कोलिय वंशको उत्पत्ति बौद्ध साहित्यमा बिभिन्न सन्दर्भहरु समाविष्ट छन। तर नेपालको इतिहासको सन्दर्भमा केवल काठमाडौं उपत्यकाको वारेमा पढाइने गरिन्छ। अतः देशव्यापी नभएपनि स्थानिय स्तरमा यि इतिहासहरुको खोज अनुसन्धान गर्न अति आवश्यक छ।
झरही नदीको किनारमा रहेको रामग्राम स्तूपको बारेमा अझै अध्ययन, उत्खनन, अनुसन्धानको आवश्यक्ता छ। परासी बजारको पश्चिममा रहेको रामखण्डा खोला पनि नामको आधारमा रामग्रामसँग सम्बन्धित होला भन्ने अनुमान गर्न सकिन्छ। कोलिय गणराज्यको पश्चिमी सीमा रोहिणी नदी थियो त्यस्तै रामग्राम ईलाकाको पश्चिमी सीमा रामखण्डा खोला हुनसक्छ। यि ऐतिहासिक स्थलहरु तर्फ राज्यका तिनै तहका सरकारको ध्यानाकर्षण हुन आवश्यक छ। यस क्षेत्रलाई पार्यटकिय दृष्टिकोणले विकास गर्न सके सरकार र यस क्षेत्रका जनताहरुकालागी फाइदाकै विषय हो। अतः रामग्रामका सम्पुर्ण वुद्धिजीविहरुले यसको विकास, यस बारे अध्ययन, खोज अनुशन्धान गर्नु पर्छ।
रामग्रामस्तूप नेपाली जनताको मात्र नभएर विश्व मानव जातिकै एउटा ऐतिहासिक तथा सांस्कृतक धरोहर हो। गौतम बुद्धसँग सम्बन्धित यी उपरोक्त पवित्रस्थललाई अवलोकन गर्न वर्षेनी चिनिया, जापानी लगात बिभिन्न देशका बौद्धधर्मावलम्बी भिक्षु तथा यात्रीहरु शान्ति र अहिंसाको सिद्धान्तलाई परिपालना गर्दै यहाँ आउने गर्दछन। यी बौद्धस्थलहरु बौद्ध भिक्षु एवं धर्मानुयायीहरुको लागि मात्र नभएर हिन्दू र बौद्ध दुबै धर्मको सहिष्णुता रहेको नेपाली जनता सबैलाई उतिकै आस्थाको गन्तव्यस्थल बन्न गएको छ।
बुद्धको आठौं अस्थिधातु राखिएको महत्वपूर्ण रामग्राम स्तूपस्थलको विकास बौद्ध धर्मसँग सम्बन्धित सङ्घसंस्थाहरु र नेपाल सरकारको ध्यान जानुपर्छ। र स्थानियहरुले समेत यस रामग्रामको वास्तविक इतिहासको खोज, अध्ययन, अनुशन्धानमा लाग्नु पर्छ र धार्मिक सहिष्णुताका साथ संरक्षण, प्रवर्धन र विकाश गर्नु पर्छ।
लेखक:बिनय यादव
ठेगाना :राेहिणी गाउपालिका ५पिपरहवा
अध्यनरत: B.A.LL.B 5th year) Kathmandu School of Law.







Comments